तस्बिर स्रोत, Reuters
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
कुवेतमा नेपाली र अरू देशका कामदारहरूलाई राखिएको एउटा आवासगृहमा भएको आगलागीमा ४९ जनाको मृत्यु भएपछि खाडी राष्ट्रमा नेपाली कामदारहरू बस्ने ठाउँको अवस्थाबारे बीबीसीले खोजी गरेको छ।
कुवेतमा मङ्गलवार भएको घटनामा दुई नेपाली घाइते भएको र अहिलेसम्म कसैको पनि मृत्यु भएको जानकारी नभएको कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालले बताए।
उक्त भवनमा पाँच नेपालीहरू मात्र बस्ने गरेको जानकारी आफूले पाएको दूतावासले जनाएको छ। तीमध्ये एक जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको थियो।
“अस्पतालमा रहेका दुई जनाको अवस्था पनि चिन्तामुक्त छ। दूतावासको टोलीले हिजो उहाँहरूलाई भेटेर अवस्थाबारे जानकारी लिएको थियो,” राजदूत लम्सालले भने।
- कुवेतमा आगलागीमा परेर कैयौँको मृत्यु, केही नेपाली पनि घाइते
- वैदेशिक रोजगारीको मृत्यु चित्र: १० वर्षमा १० हजारको मृत्यु
कसरी भयो आगलागी र ठूलो क्षति
तस्बिर स्रोत, Reuters
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा उक्त भवनको तल्लो भागमा आगो लागेको र माथिल्ला तल्लाबाट धुवाँको मुस्लो उडेको देखिन्छ। आगलागीको कारण खुलिसकेको छैन।
नेपाली राजदूत लम्सालले घाइते कामदारहरूले आगो कसरी लाग्यो भन्नेबारे आफूहरूले केही थाहा नपाएको बताएको जानकारी दिए। “हामीले पनि घटनाबारे बुझ्ने प्रयास गरिरहेका छौँ। सकुशल रहेका कामदारहरूसँग सम्पर्क हुन सकेको छैन,” लम्सालले भने।
Embassy
अस्पतालमा रहेका दुई जनाको अवस्था पनि चिन्तामुक्त छ। दूतावासको टोलीले उहाँहरूलाई भेटेर अवस्थाबारे जानकारी लिएको थियो
स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त भवनमा १९६ कामदार बस्दै आएका थिए।
त्यहाँ भवनको क्षमताभन्दा बढी मानिसहरू बसेको प्रहरीको आशङ्का छ।
अधिकांश मानिसको मृत्यु धुँवामा निस्सिएका कारणले भएको प्रहरीले जनाएको छ।
कुवेतका उपप्रधानमन्त्री तथा कार्यवाहक गृहमन्त्री शेख फहाद युसुफ अल-सबाहले उक्त भवनमा मापदण्ड पालना नभएको र भवनको स्वामित्व भएको पक्षको लापरबाही र लोभका कारण उक्त घटना भएको बताएका छन्।
एक दिनारको मूल्य रु ४०० भन्दा बढी, डलर र पाउन्डभन्दा किन महँगो
कुवेत जान लाग्दा भारतबाट फर्काइएकी नेपाली युवतीको कथा
घटनाका प्रत्यक्षदर्शी तथा दक्षिण भारतका मणिकन्दानले बीबीसी तमिललाई बताएअनुसार उक्त भवनमा आगलागी हुँदा धेरै कामदारहरू रातिको खेपमा काम गर्न गएका थिए।
"कामबाट बिहान फर्किएका केही मानिसहरू खाना पकाउँदै थिए," उनले भने, "आगो चाँडै फैलियो। त्यो भवनमा बस्ने मानिसहरूले आगो नियन्त्रण गर्न सकेनन्।"
कामदारहरू कस्तो ठाउँमा बस्छन्
कामदारहरूको आवासबारे अध्ययन गरेका विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले खाडी राष्ट्रमा कतिपय कामदारहरूलाई राखिने स्थानको अवस्था दयनीय रहेको प्रतिवेदन सार्वजनिक गरेका छन्।
एक दशकअघि खाडी राष्ट्रहरूमै पुगेर नेपाली कामदारहरूको अवस्थाबारे अध्ययन गरेका श्रमविज्ञ गणेश गुरुङ ठूला कम्पनीहरूले नेपाली कामदारहरूलाई सुविधायुक्त आवासमा राख्ने गरेको बताउँछन्।
“तर धेरै कामदारहरू साना कम्पनीमा काम गर्न पुग्छन् र त्यस्ता कम्पनीमा चाहिँ उनीहरूको आराम गर्ने र सुत्ने ठाउँ पनि राम्रो हुँदैन,” गुरुङ भन्छन्।
“हामी अध्ययनका लागि पुग्दा कतिपय कामदारहरूलाई भर्याङमुनि सुत्नुपर्ने बाध्यता पनि भेटिएको थियो। मैले बुझ्दा एक दशकपछि पनि त्यस्तो अवस्थामा धेरै सुधार भएको छैन।”
PRI
हामी अध्ययनका लागि पुग्दा कतिपय कामदारहरूलाई भर्याङमुनि सुत्नुपर्ने बाध्यता पनि भेटिएको थियो। मैले बुझ्दा एक दशकपछि पनि त्यस्तो अवस्थामा धेरै सुधार भएको छैन
एम्नेस्टी इन्टरन्याश्नलले सन् २०२० मा गरेको एउटा अध्ययनले अधिकांश कामदारहरूलाई 'डर्मिटरी' मा जसरी शिविरहरूमा राख्ने गरिएको देखाएको छ।
ती शिविरमा एउटा कोठामा छदेखि १२ जनासम्म बस्ने गरेको र उनीहरूका लागि तल्ले खाट दिइने गरेको पाइएको अध्ययनमा उल्लेख गरिएको छ।
- पोर्चुगलको आप्रवासन नीति कडा पार्न थालिएसँगै नेपालीलाई कस्तो असर पर्ला?
- दक्षिण कोरियाले यो वर्षदेखि 'होटल र रेस्टुराँ'मा पनि नेपाली कामदार लिने, जाने प्रक्रिया के?
कोभिड महामारीको समयमा गरिएको उक्त अध्ययनमा कामदारहरूलाई राखिएका शिविरमा पर्याप्त शौचालय र सरसफाइको पनि अभाव रहेको दाबी गरिएको छ।
सन् २०२३ को डिसेम्बरमा 'ह्यूमन राइट्स वाच'ले सार्वजनिक गरेको एउटा विवरणमा खाडी राष्ट्रमा कार्यरत एक कामदारलाई उद्धृत गर्दै उनलाई राखिएको ठाउँमा एक वर्षसम्म ६० कामदारका लागि एउटा मात्रै शौचालयको व्यवस्था गरिएको उल्लेख छ।
तस्बिर स्रोत, Sam Tarling/Corbis via Getty Images
साउदी अरबमा बस्ने एक कामदारले आफूहरूहरूलाई कन्टेनरहरूबाट बनाइएको शिविरमा राखिएको जानकारी दिएका थिए।
यूएईमा बस्ने एक कामदारले आफूहरू बस्ने शिविर आफैँले बनाएको र चिसोका लागि पर्याप्त सुविधा नभएको गुनासो गरेको ह्यूमन राइट्स वाचको अर्को प्रतिवेदनमा उल्लेख छ।
कुवेतबाट घर फर्किने मौका थियो, तर नेपाली कामदार 'अवैध भएरै बसे'
कुवेतमा नेपाली कामदारको मृत्युले उब्जाएका प्रश्न
श्रमविज्ञ गुरुङ कामदारहरू बस्ने अधिकांश ठाउँमा तीनतले खाट राख्ने गरिएको बताउँछन्।
“ठूला कम्पनीमा व्यवस्थित छ, सरसफाइ छ, खाने, सुत्ने र काम गर्न जाने समय तोकिएको छ। तर साना कम्पनीमा तलब पनि समयमा नदिने, बीमा नवीकरण नगरिदिने र बस्ने ठाउँको पनि राम्रो व्यवस्था नहुने अवस्था हुन्छ,” उनले भने।
नेपालबाट अनुगमन हुँदैन
तस्बिर स्रोत, MOFA
आप्रवासी कामदारहरूको अवस्थाबारे अध्ययन गरिरहेका गुरुङ नेपाली निकायहरूले दूतावास रहेका देशहरूमा पनि कामदारहरूको अवस्थाबारे अनुगमन नगर्ने बताए।
नेपाली दूतावासहरूले कर्मचारीको अभावमा कामदारहरूको अवस्थाबारे अनुगमन गर्न नसकिएको बताउने गरेका छन्।
“हाम्रो दूतावासबाट पटक्कै अनुगमन छैन। दूतावासले 'कर्मचारी पुग्दैन, राहदानी बनाउने र मृत्यु भएकाहरूको शव फिर्ता पठाउने काममा मात्रै ठिक्क हुन्छ' भन्छ,” गुरुङ भन्छन्।
“दूतावास राखेपछि कर्मचारी पनि दिनुपर्यो सरकारले। राहदानी बनाउन मात्रै दूतावास राखेको होइन नि।”
नेपालमा कृषि कामदारको ‘हाहाकार’, यी हुन् कामदार खोजिरहेका प्रदेश
रोजगारीका लागि क्यानडा र युरोप पठाउने नाममा ठगी बढ्दै, जोगिन के गर्ने?
कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमराज गौतम कामदारहरूलाई राखिने आवासबारे दूतावासले अनुगमन गर्ने नगरेको बताए।
“यहाँ कामदारहरू ल्याउने क्रममा कम्पनीले आवास सुविधा दिएको छ वा छैन हामी हेर्छौँ। अधिकांश कम्पनीले आवास सुविधा दिएका हुन्छन्। बाँकी बसोबासको मापदण्ड, त्यसको अनुगमन र मूल्याङ्कन कुवेतको नियमानुसार यहीँको सरकारले तय गरेको निकायले गर्छ,” उनले भने।
कुवेतमा कति नेपाली छन्
तस्बिर स्रोत, NRNA Kuwait
कतारमा अहिले बसोबास गर्ने मानिसको दुईतिहाइ भाग आप्रवासी कामदारहरूले ओगटेका छन्।
त्यहाँको विदेशी श्रमिकहरूको माग ठूलो छ। नेपाली दूतावासका अनुसार कतारमा नेपाली कामदारहरूको सङ्ख्या गत पुस महिनाको मध्यसम्ममा कुवेतमा बस्ने नेपालीहरूको सङ्ख्या एक लाख सात हजारभन्दा बढी छ।
गैरआवासीय नेपाली सङ्घ कुवेतका अध्यक्ष रणध्वज लामाका अनुसार कुवेतमा अवैध रूपमा बस्ने नेपालीको सङ्ख्या २५,००० जति छ
कुवेतमा रहेका कुल विदेशी कामदारमध्ये दुई प्रतिशत नेपाली भएको नागरिक आप्रवासन निकायलाई उद्धृत गर्दै दूतावासले जनाएको गरेको छ।
टाट पल्टिएको साउदी निर्माण कम्पनीले जब जयप्रकाशलाई आठ वर्ष पुरानो तलब लिन बोलायो...
‘म त उम्केर आएँ, फिरौती नतिरे अरू नेपाली साथीहरू बेचिन सक्छन्’
नेपालीहरूले कुवेतमा सरसफाइ सेवा प्रदान गर्ने कम्पनी, घरायसी कामदार, सवारीचालक र सुरक्षा गार्ड सहितका सेवा क्षेत्रमा काम गर्ने गरेको दूतावासले उल्लेख गरेको छ।
कुवेतमा घरेलु कामदारका रुपमा महिलाहरू जाने गरेको भए पनि सन् २०१४ देखि उक्त क्षेत्रमा जान बन्द गरिएको दूतावासले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।